२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

म सबैले सुन्नेगरी भन्न चाहन्छु चैत ७ गतेको बैठकमा आउनु होला: प्रधानमन्त्री ओली

२०७७ चैत्र १, आईतबार प्रकाशित ( साल अघि) १२५० पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिनुभएको छ । हटाउन सके हटाएर देखाउन उहाँले चुनौती दिनुभएको हो । कसैले हटाएपनि नेकपा(एमाले) २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘लगभग दुईतिहाई लिएर सिंहदरबार पस्छौँ । १९ महिना पछि । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । हटाओस् । जालझेल गरोस् । षडयन्त्र गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । बिस महिना पछि फेरि यो पार्टी, सूर्य चिन्ह धारी पार्टी, नेकपा (एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मुल गेटबाट फेरि पस्छ । बिस महिना पछि । हामीलाई प्रतिपक्षमा एकछिन रहन कुनै गाह्रो छैन । प्रतिपक्षमा पनि बस्न तयार । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ ।’

उहाँले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताउनुभयो । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘उहाँहरु कता जानुभयो ? कता जान हिड्नुभएको थियो ? बाटामा तगारो आयो अरे । तगारो आएपछि कसैले फर्क भन्दियो अरे । फर्किदै हुनुहुन्छ अरे । ठिक छ फर्किनुस् । आउनुस् । केही गरिदिया छैन उहाँहरुलाई । उहाँहरुले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नका लागि, काम गर्दै गर्नु परेन ? पार्टी चलाउँदै गर्नु परेन ? उहाँहरु आएपछि सल्लाहसँग गरुँला । अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरुलाई केही कामको जिम्मा दिएका छौँ । काम त चलाउँदै गर्नुप¥यो नि हामीले । त्यो जिम्मा दिदाखेरी फेरी दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ । किन उफ्रिराख्नु बैठकमा आए भैगयो नि । ७ गते बैठक बोलाइएको छ । आउनुस् । छलफल गरौँला । कसरी अगाडी बढ्ने बढौला ।’

प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आव्हान गर्नुभएको छ । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाँबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदावारी भएर हिड्नु भएको थियो रे । अर्याल होटलसम्म आइपुग्नु भाको छ त्यहाँ एक दुई रात बास बस्नुभाको भन्ने सुनियो । बैठकमा आइपुग्नु भको छैन । प्रशस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु । चैत्र ७ गते बैठक बोलाएको छु । यत्रोविघ्न टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला सुनिन भन्न पाइने छैन । २०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्नेगरी भन्न चाहन्छु ७ गतेको बैठकमा आउनुहोला ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस