२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

भैरहवामा बन्यो ४५ करोडको भव्य वाटरपार्क

२०७८ बैशाख २, बिहिबार प्रकाशित ( साल अघि) २२४९ पाठक संख्या

रुपन्देही । रुपन्देहीको भैरहवामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ४५ करोड लागतमा ‘लुम्बिनी अम्युजमेन्ट वाटर पार्क एण्ड रिसोर्ट सेन्टर’ सञ्चालनमा आएको छ ।

साढे ६ बिगाह क्षेत्रफलमा पार्क तयार गरिएको सञ्चालकले बताएका छन् । वाटर पार्कसँगै बैंकेट हल, रेष्टुरेण्ट, सभाहल हल तथा सोर्टलगायत अन्य मनोरञ्जनका सुविधा उपलब्ध छन् । वाटरपार्कमा ९ वटा स्लाइड छन् भने ४० फिट अग्लो टावरबाट वरपरको क्षेत्र अवलोकन गर्न पाइने छ ।

 

आन्तरिक तथा वाह्य पर्यटकको नेपाल बसाइ अवधि बढाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको पार्कमा नेपाली संस्कृति झल्किने विभिन्न हस्तकला, पेन्टिङ आदि खरिद गर्न मिल्ने सोभिनियर सप, फुड कोर्ट, प्रतिक्षालय, लकर लगायतको सुविधा छ ।

प्राकृतिक समुन्द्री छालजस्तै अनुभव लिने गरी वेभ पुल, रेन डान्स, क्रेजी रिभरलगायत पनि छन् । यहाँ वयस्क र बालबालिका लागि अलग–अलग स्लाइडको ब्यवस्था गरिएको लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सेन्टरका सञ्चालक निरज बरालले बताए ।

नेपाल–भारत सीमानाका बेलहिया नजिकै रहेको पार्कमा १० हजार वर्गफिटको बहुउद्देश्यीय हल, ३ तलाको रेष्टुरेन्ट र १५ हजार वर्ग फिटको पार्किङ सुविधा छ । बसोबासका लागि २ महिनाभित्रै होटलका कोठाहरु तयार हुने र आगामी दिनमा लगानी बढाएर १ अर्ब पुर्याइने सञ्चालकले जनाएका छन् ।

 

लामो समय कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र उकास्न वाटरपार्कले मद्दत पुग्ने यस क्षेत्रका व्यवसायीको विश्वास छ । पछिल्ला ५ वर्षमा लगानीअनुसारको प्रतिफलको सम्भावना देखेर भैरहवा–लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीले धमाधम लगानी बढाइरहेका छन् ।

वाटरपार्कमा बरालसँगै, कमल भुसाल, पुष्पराज पौडेल, लोकनाथ भण्डारी, नारायण आचार्यको लगानी छ । वाटर पार्क र रिसोर्ट सञ्चालनमा आएपछि यहाँका निजी क्षेत्र एवम् पर्यटन व्यवसायीहरु पनि उत्साहित भएका छन् ।

ठूला–ठूला लगानीका योजनाहरु आउनुले भैरहवा लगानीको लागि उपयुक्त रहेको सन्देश दिएको उद्योगी व्यवसायीको भनाइ छ । उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले यसको सञ्चालनको वातावरण मिलाइदिने दायित्व निजी क्षेत्र र सरकारको रहेको बताए ।

 

निजी क्षेत्रले पनि यस क्षेत्रको विकास र समृद्धि चाहेको र भारतीय तथा विदेशी पर्यटकलाई रमाउने थलोको रुपमा परिचित गराउन पार्कले सहयोग गर्ने विश्वास उनको छ ।

‘कोभिडको संक्रमण मुलुकमा रहे पनि बिस्तारै यो सहज हुनेछ र राज्यले पनि पर्यटकलाई यहाँसम्म आउने वातावरण बनाई दिनुपर्ने पर्छ,’ उनले भने ।

नाट्टाका प्रदेश अध्यक्ष बिष्णुप्रसाद शर्माले पनि कोभिड अन्त्य भएपछि पार्कमार्फत भारतीय पर्यटकबाट ठूलो आयआर्जन गर्नसक्ने सम्भावना रहेको बताए । उनले पनि पार्क सञ्चालनले पर्यटन व्यवसायीहरुमा उत्साह थपेको उल्लेख गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस