२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुर सहित छुटाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु           

२०७७ फागुन १८, मंगलबार प्रकाशित ( साल अघि) ११७९ पाठक संख्या

नवलपुर , १८ फागुन । मोरङ, धादिङ, दाङ, बाँके, कञ्चनपुर र नवलपुरका छुटाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीस्थित सडकमा ना.७ ख ७०२३ नम्बरको ट्रक र ना.६ ख ३०११ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा दुबै ट्रकका चालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ना.६ ख ३०११ नम्बरको ट्रकका चालक कास्की पोखरा महानगरपालिका-१५ बस्ने ५१ वर्षीय खिम बहादुर बिक र ना.७ ख ७०२३ नम्बरको ट्रकका चालक मकवानपुर हेटौंडा बस्ने ३४ वर्षीय राज कुमार न्यौपाने रहेका छन् । दुर्घटनामा गम्भीर घाइते उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार अन्य २ जनाको सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भरतपुर चितवनतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।                                                                                                                                                                                                 मोरङ, उर्लाबारी नगरपालिका-१ टपुमावा खोलामा प्रदेश १-०४-०१ त १२० नम्बरको ट्याक्टरको ट्रलिले किच्दा सोही ट्क्याटरमा काम गर्ने रतुवा नगरपालिका बस्ने ५१ वर्षीय गौरिमान खड्काको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, ज्वालामुखी गाउँपालिका-३ अमराईस्थित सडकमा ग.१ त १०४१ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने बिष्णु अधिकारीकी ११ वर्षीया छोरी बिबेशना अधिकारीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बिबेशनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ, घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित सडकमा रा.४ प ४७४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१७ बस्ने १५ वर्षीया अमृता आचार्यको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, राप्ती सोनारी गाउँपालिका-९ ढकरीस्थित सडकमा भे.८ प ३७९५ तथा भे.५ प ३८८९ नम्बरको मोटरसाइकलाई ना.८ ख ५४५६ नम्बरको टिपरले सोमबार बेलुका ठक्कर दिँदा भे.८ प ३७९५ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-८ बस्ने २५ वर्षीय ढग बहादुर खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका दुवै मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-११ कलुवापुरस्थित सडकमा ना.६ ख १७६४ नम्बरको बसले म.३ प १४८० नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक भिमदत्त नगरपालिका-१४ बस्ने २५ वर्षीय दिनेश दमाई र मोटरसाइकलमा सवार कृष्णपुर नरगपालिका-२ वाँणी बस्ने २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त सडकमा ना.२ च २८८७ नम्बरको पिकअप जिपमा उक्त मोटरसाइकल ठोकिएर पल्टिदा पुन ना.६ ख १७६४ नम्बरको बसले ठक्कर दिएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस