२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ३३४ जना नयाँ क्षयरोगी

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित ( साल अघि) ४०२ पाठक संख्या

विष्णुप्रसाद गौडेल

कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको फागुन मसान्त सम्म ३३४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन देखि फागुन सम्म जिल्लामा २०२ जना पुरुष र १३२ जना महिला गरि ३३४ जना नयाँ क्षयरोगी पहिचान भएको जनाइएको छ । नयाँ क्षयरोगी मध्य १४ वर्ष मुनिका पाँच जना बालिका र एक जना बालक पनि रहेको तथ्याङकमा देखिएको छ ।

साउन देखि फागुन सम्म जिल्लामा भेटिएका क्षयरोगी मध्य १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य नौ जना पुरुष र तीन जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनु भयो । गत आर्थिक वर्षको साउन देखि फागुन सम्म जिल्लामा ३१२ जना क्षयरोगी भेटिएकोमा यो वर्ष गत वर्षको भन्दा २२ जना वढी क्षेयरोगी भेटिएका छन् ।

“जिल्लामा अहिले ३२२ जना क्षयरोगीले औषधी सेवन गरिरहनु भएको छ भने साउन यता १२ जनाको मृत्यु भएको छ ” उहाँले भन्नु भयो “औषधी सेवन गरिरहेका क्षयरोगी मध्य सात जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रुपमा उपचार भईरहेको छ ।”

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लमा भेटिएका क्षयरोगी मध्य गैँडाकोट नगरपालिकामा सबै भन्दा धेरै ८१ जना रहेका छन् । त्यसैगरी कावासोती नगरपालिकामा ६६ जना, देवचुली नगरपालिकामा ५१ जना, मध्यविन्दु नगरपालिकामा ५० जना, विनयी त्रिवेणी गाउँपालिकामा ३७ जना, हुप्सेकोट गाउँपालिकामा २९ जना, बुलिङटार गाउँपालिकामा १२ जना र वौदीकाली गाउँपालिकामा ८ जना नयाँ क्षयरोगी भेटिएको चापागाईले बताउनु भयो ।

“जिल्लामा गत आर्थिक वर्ष २०७८र०७९ को असार मसान्त सम्म ५२९ जना क्षयरोगी फेला परेका थिए भए भने १९ जनाको मृत्यु भएको थियो” उहाँले भन्नु भयो “आर्थिक वर्ष २०७७र७८ मा जिल्लामा ४१६ जनामा क्षयरोग देखिएकोमा १८ जनाको मृत्यु भएको थियो ।”

क्षयरोगको उपचारका लागि जिल्लामा ४४ डट्स केन्द्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताउनु भयो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डीआर९ड्रक रेसिस्टेन्ट० होस्टेल रहेको छ । जहाँ अन्य जिल्लाका क्षयरोगीहरुको पनि आवासीयरुपमा उपचार गर्ने गरिएको छ । गण्डकी प्रदेशमा डीआर होस्टेल नवलपुर संगै बाग्लुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा ७४९ डट्स केन्द्र रहेको छ ।

“जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको संख्या बढ्दै गइरेको छ” फोकल पर्सन तिवारीले भन्नु भयो “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउदै रोगीको पहिचान कार्यलाई तिब्रता दिइएको छ ।” क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्षदिनमा १५ जनालाई सार्ने तिवारीले बताउनु भयो । बहुऔषधि प्रतिरोध बिरामीको संख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उहाँले बताउनु भयो ।

विश्वका आठ वटा देशमा मात्र क्षयरोगका दुई तिहाई विरामीहरु रहेका छन् । जसमध्य २८ प्रतिशत भारत,९.२ प्रतिशत इन्डोनेशिया,७.४ प्रतिशत चीन, ७ प्रतिशत फिलिपिन्समा रहेका छन् । प्रत्यक वर्ष मार्च २४ तारीकका दिन मनाइदै आइएको विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतना मुलक कार्यक्रम गरि विश्वभर मनाईदै छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामि क्षयरोग अन्त्य गर्छौं’ तय गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस