२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा फलाम खानीको उत्खनन कार्य अगाडि बढ्यो, १५ करोड टन कच्चा फलाम उत्पादन हुने

२०७९ अषाढ ५, आईतबार प्रकाशित ( साल अघि) ८६१ पाठक संख्या

नवलपुर । धौवादी फलाम खानीको उत्खनन कार्य अगाडि बढाइएको छ । २०७६ साल असोजमा फलाम निकाल्न गठन भएको धौवादी कम्पनीले फलाम उत्खननका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको जनाएको छ । कम्पनीका निर्देशक शैलेश थापाले उत्खननको कार्य तीव्ररुपमा अगाडि बढेको बताए । उनकाअनुसार कम्पनीले विभिन्न परीक्षणसहित कार्य अगाडि बढाएको छ । उक्त क्षेत्रमा १५ करोड टन फलाम उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ । गण्डकी प्रदेशको नवलपरासीको सुस्तापूर्वीको कावासोतीदेखि २० किलोमिटर उत्तरमा हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ को धौवादी डाँडामा खानी भेटिएपछि धौवादी–पोखरी र दुर्लुंगा क्षेत्रमा अध्ययन अनुसन्धान कार्य गर्दै आएका छन् ।

पूर्वपश्चिम राजमार्गको डण्डा बजारबाट २५ किलोमिटर उत्तरमा रहेको क्षेत्रमा सरकारले धौवादीको १० किलोमिटर लामो फलाम खानी भेटिएको अध्ययनले देखाएको छ । सोही अध्ययनअनुसार सरकारले स्वदेशमै फलाम उत्पादन गर्ने भन्दै उत्खनन शुरु गरेको हो । धौवादी फलाम कम्पनीले हालसम्ममा फलाम खानीसम्म पुग्नका लागि सडकको २५ प्रतिशत भौतिक कार्य सम्पन्न गरिसकेको छ भने विद्युतको पनि व्यवस्था गरिसकेको कम्पनीको भनाइ छ ।

भूगर्भ खानी विभागले गरेको अध्ययनबाट १० करोड मेट्रिक टन कच्चा फलामको भण्डार रहेको अनुमान गरेको थियो । तर, कम्पनीले भूगर्भविदको संलग्नतामा गरेको अध्ययनले उक्त खानीमा करिब १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको उनको भनाइ छ ।

‘शुरुमा खानी विभागबाट अध्ययन गरेको थियो । पछि कम्पनीले पनि भूगर्भ अध्ययन गरेको छ,’ उनले भने, ‘सो अध्ययनबाट थप खानी भेटिएको छ । कम्पनीले १५ करोड मेट्रिक टन फलाम उत्पादन हुन सक्ने अध्ययन देखाएको छ ।’ धौवादी फलाम खानीमा विभिन्न क्षेत्रबाट प्राविधिक विश्लेषण, पाइलट परिक्षण गरिसकेका छन् । कम्पनीले पाइलट टेस्टका लागि चीनको छेन्दुस्थित सिचूआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । सो परीक्षणबाट धौवादीमा फलाम उत्पादन गर्न सक्ने भएको छ ।

‘चीनमा लागि पठाइएको परीक्षणबाट पिग ९क्रुड० आइरन फलाम उत्पादन गर्न सक्ने जनाएको छ । सो परीक्षणबाट प्राविधिक रुपमा फलाम निकाल्न सक्ने अवस्थामा पुगिसकेको छ,’ उनले भने । कम्पनीले प्रदान गरेको रिपोर्ट र अध्ययन गरेको रिपोर्टको पूर्णप्रतिवेदन तयार गर्ने कार्य अगाडि बढाएको उनले बताए । प्रतिवेदन तयार गरिसकेपछि कुन मोडलमा कसरी अगाडि बढ्ने भन्ने विषयमा फिजिबिलिटी अध्ययन गर्ने उनको भनाइ छ ।

धौवादी खानीबाट फालम निकाल्न सक्ने सम्भाव्यता अध्ययनका लागि विभिन्न अन्र्राष्ट्रिय परामर्शदाता आह्वान गरेका थिए । आह्वान गर्दा ६ वटा देशका परामर्शदाताले आवेदन दिएका थिए । तर, ६ वटा मध्ये आर्थिक र प्राविधिक प्रस्ताव आह्वान गर्दा बेलायत, चीन, भारत, अष्ट्रिया र क्यानाडाले मात्रै प्रस्ताव पेश गरेको उनको भनाइ छ । ‘५ वटा परामर्शदाताले प्रस्ताव पेश गरेको छ,’ उनले भने, ‘प्रस्ताव पेश गरेका ५ वटा परामर्शदाताको मूल्याङ्कन कार्य भइरहेको छ ।’

उनकाअनुसार प्राविधिक परामर्शदाता छनौट भइसकेपछि आर्थिक प्रस्तावका लागि १५ दिनको समय दिएर प्रतिनिधि राखेर आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको उनले बताए । त्यसमध्ये उपयुक्त कम्पनी कुन हुन्छ, सोहीअनुसार कम्पनीले सम्भाव्यताको काम अगाडि बढाउनेछ ।

सम्भाव्यता अध्ययन प्रतिवेदनबाट कम्पनीले डिटेल प्रोजेक्ट रिपोर्ट ९डीपीआर० र फिजिबिलिटी अध्ययनका गर्नेछ । साथै, डिपिआरसँगै इआइए, आइइलगायत सम्पूर्ण कार्यअगाडि बढाई प्रतिवेदनअनुसार उत्खननका कार्य अगाडि बढाउने उनको भनाइ छ । ‘प्राविधिक र आर्थिक रुपमा काम गर्न सक्ने अवस्थामा पुगिसकेपछि डीपीआर तयार गर्नेछ,’ उनले भने, ‘त्यसपछि इएआइए, आइइ गर्नुपर्ने हुन्छ । माइल स्किलहरू बनाउनुपर्ने हुन्छ ।’ कम्पनीले खानीसम्म बिजुली उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणको आयोजनासँग छलफल गरी धौवादी विद्युत प्रसारण आयोजना समेत गठन गरेको छ ।

आयोजना गठनबाट २२० केभिए प्रसारणलाइनबाट विद्युतको कामअघि बढेको जनाएको छ । साथै, कम्पनीले विभिन्न प्रक्रिया पूरा गरेपछि व्यवसायिक उत्पादनका लागि कार्य अगाडि बढाउने तयारी गर्ने जनाएको छ ।

त्यस्तै, धौवादी फलाम खानी सञ्चालनका गण्डकी प्रदेशले १५ करोड बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आर्थिक वर्ष २०७९र८० को बजेटमा खानी तथा खनिजजन्य पदार्थको पहिचान गरी खानीजन्य उद्योगको सम्भाव्यता अध्ययन गर्ने व्यवस्था मिलाएको बताए । प्रदेशका अर्थमन्त्री बरालले नेपाल सरकारसँगको साझेदारीमा धौवादी फलाम खानी सञ्चालनका लागि बजेट विनियोजन गरेको गरेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस