२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको धौवादीमा फलाम उत्खनन् गर्न सकिने

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित ( साल अघि) १११३ पाठक संख्या

नवलपुर । नवलपुरको धौवादी फलाम खानीमा औद्योगिकरूपमा फलामको उत्खनन् गर्न सकिने भएको छ। चीनले धौवादी फलाम खानीको परीक्षण सफल भएको खानी तथा भुगर्भ विभागलाई जानकारी दिएको छ।

चीनको रसायन प्रयोगशालाले मेटलर्जिकल(फलाम बन्छ की बन्दैन भनेर गरिने जाँच) टेस्ट सफल भएको भिडियो रिपोर्ट पठाएको विभागका महानिर्देशक राम प्रसाद घिमिरेले बताए।

‘२/३ दिन अघि प्रयोगशालाले मेटलर्जिकल टेस्ट सफल भएको भिडियो रिपोर्ट पठाएको छ,’ उनले भने, ‘ एक हप्ताभित्रै प्रतिवेदन आउँछ।’

उनकाअनुसार फलामको प्रतिशत कति छ भनेर केमिकल एनलाइसिस टेस्ट गर्न भने बाँकी रहेको छ।

धौवादीबाट व्यावसायिक रुपमा फालम उत्खनन् गर्न सकिन्छ सकिंदैन भनेर सरकारले चीनको सिचूआन इन्स्टिच्यूट अफ मेटालजिकल जीओलजी एण्ड एक्स्प्लोरेशन छेन्दु नमुना परीक्षण गर्न फलाम पठाइएको थियो। उक्त परीक्षणबाट उत्खनन् गर्नमिल्ने प्रारम्भिक रिपोर्ट आएको विभागले जानकारी दिएको छ।

घिमिरेकाअनुसार चीन पठाउनुअघि धौवादीमा एक सय किलोमिटर गहिराईमा, १० मिटर लामो, २५ मिटर फैलावटमा फलाम भेटिएपछि विभागले प्रयोगशालामा ल्याएर जाँच गरिएको थियो।

दैनिक ८ सयदेखि १२ सय मेट्रिक टन फलाम उत्पादन सकिने प्रारम्भिक निष्कर्ष रहेको उनले जानकारी दिए।

‘कति उत्पादन गर्ने भन्ने कुरा कम्पनीले गर्ने हो, प्रारम्भिक छलफलमा दैनिक ८ देखि १२ सय मेट गर्ने भन्ने थियो,’ उनले भने।

फलाम खानीका बारेमा खानी तथा भूगर्भ विभागले ९ वर्ष अघि नै अध्ययन गरेको थियो। विभागको अध्ययनपछि मात्र त्यहाँ फलाम रहेको पाइएको थियो। सरकारले त्यसपछि व्यावसायिक उपयोगिताको बारेमा अध्ययन गर्न चीन सरकारसँग सहकार्य गरेको थियो।

विभागको प्रारम्भिक अध्ययनले भने यो खानीबाट २ करोड टन बढी फलाम उत्खनन् हुनसक्ने आँकलन गरेको थियो। यद्यपी यसका बारेमा पछिल्लो अध्ययनको पूर्ण प्रतिवेदनपछिमात्र थाहा हुने विभागले जानकारी दिएको छ।

यो खानीबाट व्यावासायिक रुपमा फलाम उत्खनन् सफल भएमा नेपालका लागि वैदेशिक वस्तु व्यापार घाटामा राहत मिल्ने छ। अहिले पेट्रोलपछिको सबैभन्दा धेरै मूल्यको आयात हुने स्टिलजन्य वस्तुहरु रहेका छन्। त्यस्तै नेपालको निर्माणपनि सस्तो पर्न जाने अनुमान गरिएको छ।

खानी सञ्चालनका लागि भन्दै सरकारले धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ। चीनबाट अध्ययन प्रतिवेदन आएपछिमात्र विभागले कम्पनीलाई सञ्चालनका लागि खानी हस्तान्तरण गर्ने महानिर्देशक घिमिरेले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस