२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरकी खिम कुमारी बनिन् महिला दौडमा पहिलो

२०७७ चैत्र १६, सोमबार प्रकाशित ( साल अघि) १०६५ पाठक संख्या

पश्चिम चितवनको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि आयोजित खु्ला महिला दौड प्रतियोगितामा नवलपुरकी खिमकुमारी गुरुङ पहिलो भएकी छन् ।

झण्डै दुई किमीको दौड गुरुङले ६ मिनेट ५६ सेकेन्डमा पूरा गरी प्रथम भएकी हुन् । चितवनकी रजिना श्रेष्ठले ६ मिनेट ५७ सेकेन्ड दौड पूरा गरी दोस्रो भइन् । मकवानपुरकी सपना गुरुङले ६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुँदा ७ मिनेटमा उक्त दुरी पूरा गरी लमजुङकी वाला गुरुङ चौथो भइन् ।

५० भन्दा बढी धावक सहभागी भएको उक्त दौड प्रतियोगितामा पहिलो हुनेले नगद चार हजार ४४४, दोस्रो हुनेले तीन हजार ३३३, तेस्रो हुनेले दुई हजार २२२ र सान्तवना हुनेले एक हजार १११ को साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक रेशम तिमिल्सिनाले जानकारी दिए ।

कोरोनाको कारणले ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरिक पर्यटक मार्फत् चलायमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिएको लियो क्लब अफ गितानगरका अध्यक्ष सञ्जिव ओझाले जानकारी दिए । विगत १२ वर्षदेखि लियो क्लब अफ गितानगरले खेलकुद क्षेत्रको विकाससँगै चार्डपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुला दौड प्रतियोगिता गर्दै आएको छ ।

यस अघि ११औं संस्करणसम्म पुरुष खुला दौड आयोजना गरेको क्लबले पहिलो पटक महिला दौड गरेको हो । सामुदायिक वनअन्तर्गत पर्ने बाटुली पोखरीमा हात्ती सयर, डुंगा सयरको व्यवस्था पनि छ । दक्षिणकाली मन्दिर धार्मिक पर्यटकीय स्थल हो । लियो क्लब अफ गितानगर र योङ नेपालको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लब अफ गितानगर, वाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको सह–आयोजना रहेको थियो ।

कार्यक्रममा महिला खेलाडीलाई प्रोत्सानमा महत्तपूर्ण भूमिका निर्वाह गरेको भन्दै कान्ति महतो र बाटुली पोखरी प्रचारको लागि महत्वपूर्ण योगदान गरेको भन्दै हरिदत्त मिश्रलाई सम्मान गरिएको थियो । तराई होलीको अवसरमा आज आयोजित दौड प्रतियोगिता भरतपुर महानगरपालिका वडा नम्बर ६ को दक्षिकाली मन्दिरदेखि भरतपुर १३ मा रहेको बाटुली पोखरीसम्म भएको थियो । #नारायणी अनलाइन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस