२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा थप पाँच दिन लम्बियो निषेधाज्ञा

२०७७ भाद्र ११, बिहिबार प्रकाशित ( साल अघि) ९१८ पाठक संख्या

परासी : भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा पाँच दिन निषेधाज्ञा थपिएको छ। पछिल्लो पटक कोभिड-१९ का संक्रमित बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको बुधवारको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, संघीय तथा प्रदेश सभा सदस्यहरु, राजनीतिक दल, जिसस तथा स्थानीय तहका प्रमुखहरुसहितको बुधवारको बैठकले कोभिड-१९ को संक्रमण समुदायमा फैलिदै गएकोले निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको थियो।

कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि साउन ३१ गते राति १२ बजेदेखि लागू भएको निषेधाज्ञा तेस्रो पटक थपिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। यसअघि साउन ३१ गते राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म र भदौ ६ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो।

अझै पनि संक्रमणको अवस्थाबाट मुक्त नभई सकेको तथा समुदाय स्तरमा संक्रमण फैलिने अवस्थालाई न्यूनीकरण गर्न निषेधाज्ञालाई निरन्तरता दिन आवश्यक भएकोले भदौ १५ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिए। निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारको बैठक, भेला, छलफल, सामूहिक जमघट गर्न निषेध गरिएको छ।

निषेधाज्ञाको अवधिमा जिल्लाभित्र सञ्चालित बैंक, वित्तीय संस्था तथा सहकारीहरुमा अधिकतम रुपमा विद्युतीय सेवामा जोड दिन तथा मानिसको भौतिक उपस्थितिमा दिइने सेवाहरु निषेधाज्ञा अवधिभर स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। बढी जनसम्पर्क हुने कार्यालय/निकायहरुले अत्यावश्यक सेवाहरु न्यूनतम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सेवा प्रदान गर्न निर्देशन गरिएको छ।

निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पश्चिम नवलपरासीमा हालसम्म १९५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस