२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा तस्करीको केराउ समात्न प्रहरीलाई सकस

२०७८ श्रावण ५, मंगलबार प्रकाशित ( साल अघि) १४५७ पाठक संख्या

हरि शर्मा / परासी : पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट भारततर्फ हरियो केराउ (मटर) तस्करी हुने गरेको छ । केराउ तस्करीका लागि यो जिल्लाका सीमा नाका ट्रान्जिट प्वाइण्ट जस्तै बनेका छन् । प्रहरीले पटक पटक केराउ बरामद गरेपनि तस्करी भने रोकिएको छैन । कानुनी झण्झटका कारण तस्करीको केराउ पक्राउ गर्न सकस भएको प्रहरीको भनाइ छ ।

तेस्रो मुलकबाट आउने केराउ भारतमा पुर्‍याउँदा प्रतिकेजी २० देखि ३० रुपैयाँ नेपाली नाफा हुने भएकाले तस्करी कार्य बढेको हो । केराउ तस्करी बढेपछि केही  महिनाअघि निषेधाज्ञाको कारण देखाउँदै मटर ओसारपसारमा प्रतिबन्धसमेत लगाइएको थियो । अहिले फेरि केराउ तस्करी हुन थालेको छ ।

वीरगञ्जहुँदै भन्सार तिरेर ल्याइने अधिकांश केराउ राख्ने फर्मको नाम दसगजा नजिक रहेको स्थानमा तोकिएको हुन्छ । भूजहवा, झोलनीपुर, महेशपुरलगायतका दसगजा क्षेत्रमा फर्मका गोदामहरु रहेका छन् । केही गोदाम परासी, गोपिगञ्जमा रहेपनि सिमा क्षेत्रका गोदाममा लैजाने भन्दै बिल काटेर टेक्टर, जीप र ट्रकहरुबाट ति क्षेत्रहरुमा पुर्‍याइने गरिएको छ । त्यहीँबाट सिमा पार गर्ने गरिएको छ । बिलमा समेत दसगजा नजिकको गोदाम उल्लेख भएका कारण बीच बाटोबाट पक्राउ गर्न सकस भएको प्रहरीको भनाइ छ ।

विगतमा तस्करीलाई नियन्त्रण गर्न प्रहरीले आवश्यक अनुसन्धानका लागि भन्दै बीच बाटोबाट समेत केराउ पक्राउ गर्ने गरेको थियो । तस्करीलाई हतोत्तसाहित गर्न त्यसरी पक्राउ गरिएका केराउ ८/१० दिन राखेर छाड्ने गरिएको थियो । अनलाईन बिलसहित सम्पूर्ण कागजपत्र भएकाले प्रहरीले कानुनी रुपमा राख्न नमिल्ने भएकाले छाड्ने गरिएको एक अधिकृतले बताए । दसगजा क्षेत्रमा शसस्त्र प्रहरी र नेपाल प्रहरीका पोष्टहरु रहेका छन् । चौबिसैं घण्टा दसगजा क्षेत्रमा रहने शसस्त्र प्रहरीले समेत तस्करी नियन्त्रणमा वास्ता नगरेको स्थानीयको भनाई छ ।

केही ठूलो मात्राका केराउ प्रहरीले दसगजा वरपरका क्षेत्रबाट समेत पक्राउ गर्ने गरेको छ ।  हप्ता दिनअघि मात्र २२ लाख बराबरको केराउ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । केराउ तस्करी बढ्न थालेपछि ३ साताअघि सरुवा भएर आएका प्रहरी उपरीक्षक मनोज कुमार यादवले निगरानी बढाउँदै हप्तादिन अघि उक्त मूल्य बराबरको १ सय ८० सय क्विण्टल केराउ पक्राउ गरेका हुन् ।

बेवारिसे अवस्थामा रहेको भन्दै उक्त केराउ आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको छ । ‘जिल्लाको जनसंख्याको आधार हेर्दा यहाँ आउने केराउ अधिक छ । त्यो सबै केराउ भारत तस्करी गर्न हो, ‘यादवले भने ।

आफ्नो पहिलो प्राथमिकता अपराध नियन्त्रण र तस्करी कार्यलाई निरुत्साहित पार्ने रहेको उनले बताए । गलत नियत राखेर तस्करी कार्यमा सहयोग गर्ने कोही मातहतका इन्चार्ज संलग्न भएको पाइए तत्काल कारबाही गरिने र सोही अनुसार नियन्त्रणका लागि निर्देशन दिइएको प्रहरी उपरीक्षक यादवले बताए ।

‘जिल्लाका नाकाहरुबाट केराउ, मरिच, सुपारीजस्ता सामाग्रीहरु भारततर्फ तस्करी हुने गरेको जानकारी पाएका छौं । तर गोदाम नै दसगजामा लगेर राख्नाले समस्या भएको छ, ‘उनले भने । यस्ता वस्तुहरुको गोदाम सदरमुकाम वा राजमार्ग क्षेत्रमा मात्र राख्न पाइने प्रावधान हुन सके प्रहरीलाई तस्करी नियन्त्रणमा सघाउ पुग्ने प्रहरी उपरीक्षक यादवको सुझाव छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस