२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप : बैंक निश्चित समयमा खुल्ने

२०७८ जेष्ठ २२, शनिबार प्रकाशित ( साल अघि) ५००९ पाठक संख्या

 

विकास चापागाई

परासी । पश्चिम नवलपरासीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जेठ २२ गते राती १२ बजेदेखि जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जनाइएको छ ।

थपि गरिएको निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाले भौतिक दुरी कायम गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्दे आधा कर्मचारीबाट विहान १० देखि दिउँसो १ बजेसम्म खुल्ने भएका छन् ।

यस्तै हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा/मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु मात्र विहान ५ देखि ९ बजेसम्म खोल्न पाइने निर्णय भएको छ ।

शहरी क्षेत्रमा निर्माण सामाग्री बोकेका सवारी साधानहरु साँझ ७ देखि विहान ५ बजेसम्म सञ्चालन गर्ने पाइने भएको छ । तर निजि तथा सार्वजनिक सवारी साधन भने सञ्चाल गर्न नपाइने जनाइएको छ ।

यस्तै अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट र भिसाको निस्साको आधारमा सिधै एयरपोर्टसम्म जाने सवारी साधान सञ्चालन गर्न पाइने भएको छ ।

निषेधाज्ञाको अवधि भर अत्यावश्यक काममा बाहेक कोही पनि घर वाहिर निस्कने वा हिडडुन गर्न कडाइ गरिने भएको छ । सिमानाकाहरुमा हुने आवतजावत पूर्णरुपमा वन्द रहनेछन् ।

यस्तै महेशपुर भन्सार नाका प्रयोग गरि आउने मालवाहक सावरी साधानहरुलाई स्वास्थ्य मापदण्ड प्रयोग गरे वा नगरेको चेकजाँज गरि मात्र प्रवेश दिइने भएको छ ।

भन्सार जाँचपास र स्वास्थ्य मापदण्ड पुरा गरेका सावारी साधनलाई राती ९ बजे पछि मात्र भन्सारबाट आवतजावत गर्न दिइने प्रशासनले जनाएको छ ।

अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी, इन्धन, पानी मात्र विक्रि गर्ने तथा स्वास्थ्य सामाग्री विक्री वितरण गर्ने पसल व्यवसाय बाहेक कुनैपनि पसल व्यवसाय सञ्चालन नगर्न भनिएको छ ।

एम्बुलेन्स, शववाहन, दमकल, औषधी ढुवानी गर्ने सवारी साधन, पानी आपूर्ति गर्ने सवारी, इन्धन आपूर्ती गर्ने सवारी, संचारकर्मीले सूचना विभागबाट जारी भएको परिचय पत्र र सवारी मात्र संचालन गर्न पाइने भएको छ ।

विवाह कार्यक्रम गर्दा १५ जना नबढ्ने गरि २ वटा सवारीमा तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गरि मात्र सञ्चालन गर्न पाइने छ । आफ्नो धर्म, संस्कृति, अनुसार मृत्यु संस्कारको कार्य गर्दा १५ जना नढ्ने गरि मालमी जान पाइने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारि भएको आदेश उलंघन गर्ने, आदेश पालना गर्ने कार्यमा अवरोध गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रद्धारा जारी सूचनामा जनाइएको छ ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो । यसअघि गत बैशाख ३१ देखि जेठ १५ सम्म दोश्रो पटकका लागि निषेधाज्ञा थप गरिएको थियो । यस्तै गत जेठ १५ देखि २२ गतेसम्मका लागि तेश्रो पटकका लागि निषेधाज्ञा थप गरिएको थियो ।

निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला प्रशान कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%२%४%२%१%९%

प्रतिक्रिया दिनुहोस