२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीको बाढीमा परेर ६ को मृत्यु, पहिरोले खोला थुनियो, बाढीले डाइभर्सन बगायो

२०७८ भाद्र १३, आईतबार प्रकाशित ( साल अघि) ३८६२ पाठक संख्या

घनश्याम बगाले, नवलपरासी ।

अविरल वर्षाका कारण नवलपरासीको पूर्व र पश्चिम दुवै जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

अविरल वर्र्षासँगै आएको बाढीपहिरोमा परी नवलपरासी पूर्वमा ३ र पश्चिममा ३ गरी ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारी वर्र्षात्सँगै घर माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका नवलपरासी पूर्वहुप्सेकोट–४ माथिल्लो चारघरेका ३ जनाको शव शनिबार अपराह्न सुरक्षाकर्मीले पुरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी मधुसूदन सिंहका अनुसार पहिरोमा परी मृत्यु हुनेमा ४० वर्षीया धनमाया पुलामी, नातिनीहरु ६ र ७ वर्षका देउमाया भूमिसरा रहेका छन् । उनीहरुको शव घटनाको करिब ३६ घण्टापछि पुरिएको अवस्थामा घटनास्थलमै भेटिएको थियो ।
प्रहरी र स्थानीयबासीले शुक्रबार दिनभर बेपत्ताको खोजी गरे पनि उनीहरुलाई फेला पार्न सकिएको थिएन । शनिबार करिब ५० सुरक्षाकर्मी परिचालन गरी खोजतलास गर्दा पुरिएको अवस्थामा ३ जनाको शव फेला परेको हो ।

सोही पहिरोमा परेका घरमुली हस्तबहादुर पुलामीलाई भने घटनालगत्तै स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए ।

पहिरोले खोला थुनियो

अविरल वर्षा सँगै आएको बाढी–पहिरोले हुप्सेकोटकै गिरुबारी र पत्थरका सहायक खोला थुनिएको गाउंँपालिकाले जनाएको छ ।

खोला थुनिएको जानकारी आएपछि हुप्सेकोट गाउँपालिकाले शनिबार बिहान सूचना जारी गर्दै खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको थियो ।

पहिरोमा मानिस बेपत्ता भएको र खोला थुनिएको सूचना पाएसँगै गंण्डकी प्रदेश सांसद विष्णु लामिछाने, गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, पालिका प्रशासकीय अधिकृतसहित थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ लागेको थियो ।

सांसद लामिछानेले घटनास्थल पुगेर स्थानीय रातेखोलामा गएको पहिरोले थुनिएको पानीको बहावको निरीक्षण गर्दै रातेखोलामा बनेको तालबाट क्रमशः पानी बग्न थालेको बताउनुभयो ।

लामिछानेले लगातारको वर्षाले जिल्लाको पहाडीलगायत समग्र तराई क्षेत्रमा स्थानीय गाउँघर, नहर कुलो तथा पुलपुलेसा र धानबाली तथा राजमार्ग क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिनुभयो । उहाँले अविरल वर्र्षासँगै आएको पहिरोमा परी एकाघरका ३ जनाको पुरिएर ज्यान गएको घटनाले आफू स्तब्ध भएको बताउनुभयो ।

बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै पूर्वी नवलपरासीका स्थानीय खोला तथा खहरेहरुमा बाढी आउँदा पूर्व–पश्चिमको यातायात अवरुद्ध बनेको छ । बाढीले बिहीबार राति गैंडाकोटको पितौजीस्थित तेइस स्मृति पुलको डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग लामो समय अवरुद्ध बनेको हो ।

सडक, प्रहरी, र प्रशानको समन्वयमा निरन्तर खटिएर डाइभर्सन निर्माण गरिए पनि हिलोका कारण यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको बताइएको छ ।

सडक अवरुद्ध बनेको करिब २८ घण्टापछि एकतर्फीरूपमा सडक सञ्चालनमा आएको छ । सडकमा साना सवारी चले पनि ठूला सवारीलाई भने फस्ने समस्या उत्तपन्न भएको छ ।

नारायणगढदेखि करिब १२ किमि पश्चिम जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा पूर्व–पश्चिमको लामो यात्राका सवारी र यात्रुले कठिनाइ भोग्नुपरेको यात्रुहरुले बताए ।

सोही राजमार्गको दाउन्ने सडक खण्ड भने शुक्रबार रातिदेखि नै एकतर्फी सञ्चालनमा आएको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
सदरमुकाम डुवानमा

नवलपरासी पश्चिममा पनि बिहीबार मध्यरातमा आएको बाढी घरमा पसेपछि ज्यान जोगाउन निस्केका ३ जनाको मृत्यु भएको छ । बाढीबाट जोगिन घरबाट निस्केका रामग्राम–१६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासीको पानीको भेलले बगाउँदा ज्यान गएको थियो ।

त्यस्तै, बाढीमै परेर सुनवल–४ कि १३ वर्षीया एलिसा तामाङ बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा घरदेखि ५ किमि तल सुनवल–१० स्थित तुरिया खोलाको झाडीमा शनिबार अपराह्न उनको शव फेला परेको पश्चिम नवलपरासी प्रहरी प्रवक्ता प्रनाउ राजु लामाले बताउनुभयो ।

लामाका अनुसार अविरल वर्र्षासँगै जिल्लाका विभिन्न गाउँबस्ती डुवानमा परेको र सदरमुकाम परासीका करिब ९० प्रतिशत घरहरुमा बाढी पसेको बताउनुभयो ।

लामाले वर्र्षात्सँगै आएको बाढी सदरमुकाम परासी बजारमा पस्दा जिप्रका पश्चिम नवलपरासीमा ६ तथा यहाँ रहेको आर्मी ब्यारेकमा १२ फिट पानी जमेको थियो ।

बाढीका कारण नारायणी नदीको बाँध क्षेत्र गण्डक ब्यारेजमा शुक्रबार पानीको लेवल ४ लाख ५० हजार क्युसेक पुगेको भए पनि शनिबार घटेर ४ लाखमुनि रहेको स्थानीय प्रेमचन्द्र रौनियारले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२%१%१०%१%

प्रतिक्रिया दिनुहोस