२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीको बर्दघाटमा बन्दै ट्रमा सेन्टर

२०७८ जेष्ठ १८, मंगलबार प्रकाशित ( साल अघि) १९७४ पाठक संख्या

रवि पाण्डेय                                                         नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर बनाउने योजना बजेटमा समावेश भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८–७९ को आयव्यय विवरणमा उक्त विषय उल्लेख छ ।

 

लुम्बिनी प्रदेशकै प्रवेशद्वार बर्दघाट नगरपालिकाको पूर्व–पश्चिम लोकमार्गमा दाउन्ने चुरे पहाड पर्दछ, जहाँ सडक दुर्घटनाको अधिक जोखिम हुँदै आएको छ । ट्रमा सेन्टर बजेटमा समावेश भएपछि स्थानीय स्तरमा यसबारे चर्चा–परिचर्चा चलेको छ ।

 

बर्दघाट नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले नगरको मागअनुसार बजेटमा ट्रमा सेन्टर परेको जानकारी दिए । बर्दघाट वडा नम्बर २ चिसापानीमा ट्रमा सेन्टर बनाउन नगरले माग गरेको उल्लेख उनको भनाइ छ । आवश्यकता र नगरबासीको मागबमोजिम ट्रमा सेन्टरका लागि पहल गरेकामा अहिले पूरा भएको उनले बताए ।

 

वडा नम्बर २ चिसापानीमा सरकारी स्वामित्वको चिसापानी अस्पताल छ । सो अस्पतालको अध्यक्षमा नगरप्रमुख बस्याल छन् । बर्दघाट प्रहरीलाई अपराध न्युनीकरण कार्यबाहेक पनि सडक दुर्घटनाले हैरान पार्ने गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरीक्षक कपिल वाग्ले दाउन्ने पहाडकै कारण अधिक सवारी दुर्घटना हँुदा प्रहरी जनशक्तिको धेरै समय उद्धार कार्यमा लगाउनुपरेको बताउँछन् ।

 

सामान्य घाइतेलाई स्थानीय स्तरमा र गम्भीर भएकालाई बुटवल एवं भैरहवा पठाउनुपर्दा निकै जोखिम हुने गरेको उनले सुनाए । ‘चिसापानी अस्पताल वा निजी मेडिकलमा घाइतेहरू पठाउँदै आएका छौँ’, वाग्लेले भने, ‘यहाँ ट्रमा सेन्टर आवश्यक थियो । बजेटमा समेत परेको छ । यसले धेरैको ज्यान बचाउन मद्दत गर्नेछ ।’

 

निषेधाज्ञाकै बीचमा पनि दाउन्नेमा बस दुर्घटना हँुदा ४ जनाको ज्यान गएको थियो भने ४९ घाइते भएका थिए । बर्दघाट नगरमा चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल छन् । प्रत्येक वडामा आधारभूत स्वास्थ्य चौकी निर्माण जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस