२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

धौवादी फलाम खानीमा ड्रिलिङ

२०७८ आश्विन २७, बुधबार प्रकाशित ( साल अघि) ११७२ पाठक संख्या

नारायण शर्मा/पूर्वी नवलपरासी — फलामको मात्रा यकिन गर्न धौवादी फलाम खानी क्षेत्रका ५ स्थानमा ड्रिलिङ थालिएको छ । भूगर्भविद्हरू अर्जुन भण्डारी र पशुपति गैरेको टोलीले फलाम खानीका ५ भिन्न स्थानमा ड्रिलिङको काम अघि बढाएको हो । जमिनको सतहबाट २ सय ४० मिटर, २ सय ६८ मिटर, २ सय १० मिटर, १ सय ६५ मिटर र १ सय २ मिटर ड्रिलिङ गरिएको छ । तीमध्ये धौवादी र पोखरी क्षेत्रमा गरिएको नमुना परीक्षणमा फलामै फलाम भेटिएको छ भने अन्यत्र फलामभन्दा ढुंगाको मात्रा बढी भेटिएको भूगर्भविद् सौनक भण्डारीले बताए । ढुंगा र फलाम मिश्रित चट्टानको नमुनाको थप विश्लेषण भइरहेको उनले जनाए । ‘धौवादी पहाडको १० किलोमिटर क्षेत्रमा कम्तीमा १० करोड टन फलाम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । संकलित नमुनामा २५–६५ प्रतिशतसम्म फलामको मात्रा भेटिएको छ,’ उनले भने । संसारका अन्य फलाम खानीको अवस्था विश्लेषण गर्दा ६५ प्रतिशतभन्दा बढी फलामको मात्रा भएको स्थानलाई उत्खननका लागि उपयुक्त मानिन्छ । हालसम्म गरिएको उत्खननलाई विश्लेषण गर्दा यहाँ उद्योग नै स्थापना गरेर फलाम निकाल्न उत्साह जगाउने परिणाम (ढुंगामा फलामको मात्र बढी हुनुपर्ने) भने नभेटिएको उनको भनाइ छ । उनका अनुसार पहाडमा जति धेरै मात्रामा फलामको परिणाम भेटिन्छ उति नै उत्पादन लागत सस्तो पर्छ र बजारमा मूल्यमा प्रतिस्पर्धा गर्न सजिलो हुन्छ । फलामभन्दा ढुंगाको मात्रा बढी हुँदा २/३ पटक प्रशोधन गर्दा लागत बढ्छ र बजार मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन । ५ स्थानबाट निकालेको नमुना शनिबार काठमाडौं लगिएको छ । खानी तथा भूगर्भ विभागको प्रयोगशालामा त्यसको थप परीक्षण गरेर फलामको मात्रा यकिन गरिने भण्डारीले बताए । गत साता निकालिएको नमुनामा फलामको मात्रा यकिन भएपछि फलामखानी सञ्चालन गर्न डीपीआरलगायतको काम अघि बढ्ने उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%१%

प्रतिक्रिया दिनुहोस