२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

दाउन्नेदेखि बुटवलसम्मको सडकमा सवारी चालक र यात्रुलाई सधैं सास्ती 

२०७८ आश्विन ८, शुक्रबार प्रकाशित ( साल अघि) १५७७ पाठक संख्या

नवीन पौडेल / परासी — दसैं नजिकिँदै गर्दा सडकमा आवागमन बाक्लिन थालेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेदेखि बुटवलसम्मको सडकको दुरवस्थाले भने सवारी चालक र यात्रुले सधैं सास्ती खेप्नुपरेको छ । मुख्य सडकको खाल्टाखुल्टी र डाइभर्सनका कारण यात्रा कष्टपूर्ण छ ।

सडकको दुरवस्थाका कारण पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमतर्फ सञ्चालन हुने यात्रुवाहक बस भुमहीबाट सोझै बुटवल नगएर भैरहवा हुँदै जानुपर्ने अवस्था आउँदासमेत मर्मतका लागि कसैले पनि चासो दिएका छैनन् । भुमहीबाट बुटवलको ३७ किलोमिटर यात्रा तय गर्नका लागि यात्रु र सवारी चालकले भुमही–भैरहवा हुँदै बुटवलसम्म पुग्न ५८ किलोमिटरको घुमाउरो यात्रा गर्नुपर्छ । यसले सबैभन्दा बढी एम्बुलेन्स र उपचारका लागि बुटवल जानुपर्ने पश्चिम नवलपरासीका बासिन्दालाई मर्का परेको छ ।

‘नयाँ निर्माण गर्ने नाममा भइरहेको संरचना बिगार्ने र मर्मत नगर्दा हामीले दुःख पाएका छौं । अहिलेको बाटोमा मोटरसाइकल र स्कुटर चलाउन पनि निकै गाह्रो छ,’ सुनवलको भुमहीका योगेन्द्र भण्डारीले भने, ‘सडकको अवस्थाले गर्दा ४० मिनेटमा पुगिने स्थानमा २ घण्टाभन्दा बढी लाग्ने गरेको छ । सबैभन्दा दुःख अचानक बिरामी भएर अस्पताल जानुपरेमा सडकको अवस्थाका कारण बीचैमा ज्यान जाने जोखिम छ ।’ भुमहीदेखि बुटवलसम्म सुनवल र देवदहमा पुल भासिएको छ भने तीन स्थानमा डाइभर्सन निर्माण गरिएको छ । जसले गर्दा सहज रूपमा यात्रा गर्न कठिनाइ छ । हिलो र धूलोका कारण पनि यस सडक खण्डमा यात्रा गर्नका लागि यात्रु र सवारी चालक दुवै मान्दैनन् ।

‘सडक जीर्ण हुँदा ट्राफिक व्यवस्थापनमा निकै समस्या छ । डाइभर्सनमा एउटा गाडी फस्यो भने घण्टौंसम्म जाम हुन्छ,’ जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी निरीक्षक वासुदेव नेपालले भने, ‘सडक खराब हुँदा सबैलाई गाह्रो परेको छ ।’पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा छ । जसका लागि चाइना स्टेट कम्पनीले ठेक्का पाएको छ । तर ठेकेदार कम्पनीले पुल, कल्भर्ट र सडक निर्माण गर्न जथाभावी सडक वरपर खन्ने, माटो हाल्ने गर्दा पुरानो सडक जीर्ण बन्दै गएको हो । सडक विस्तारका क्रममा पुल निर्माणका लागि बनाइएको डाइभर्सनबाट वर्षामा बाढी पस्दा सडक बगाउने र बस्तीमा समेत पानी पसेपछि स्थानीयले समेत विरोध जनाएका थिए । डाइभर्सन निर्माण गर्दा प्रयोग गरिने डोजरले वरपरको सडक भत्काए पनि ठेकेदार कम्पनीले वास्ता नगर्दा सडक थप जीर्ण हुँदै गएको छ ।

सडक विस्तारको काम तोकिएको समयमा नहुने र जीर्ण सडकको मर्मत पनि समयमा नहुने हो भने यात्रा कष्टकर हुने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । ‘हामीले ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेका छौं । सामान्य बिग्रिएको स्थानमा मर्मत पनि भएको छ,’ उनले भने, ‘तर वर्षाका कारण मर्मत हुन नपाउँदै पानीको भलले सडक भत्काउने गर्दा समस्या छ । अब हिउँद लागेपछि केही सहज होला ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%५%२%

प्रतिक्रिया दिनुहोस