२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोट जलमग्न

२०७९ श्रावण १७, मंगलबार प्रकाशित ( साल अघि) ६०१ पाठक संख्या

नारायण शर्मा 

पूर्वी नवलपरासी — दुई दिनदेखिको अविरल वर्षाका कारण पानी जम्दा गैंडाकोट जलमग्न भएको छ । वर्षाले यहाँको महेन्द्र राजमार्गको उत्तरतर्फका अधिकांश घर डुबानमा परेका छन् भने दर्जनौं घरमा पानी पसेको छ ।

स्थानीय कवीन सापकोटाका अनुसार वडा नम्बर २ र ४ का धेरैजसो घर डुबानमा परेका छन् । भित्री सडकमा पानी भरिएकाले आउजाउ गर्न समेत समस्या भएको छ ।

कालीगण्डकी चोक र झपर्दी चोकमा पानीले निकास नपाउँदा धेरैको घरमा पानी पसेको छ । स्थानीय राम सापकोटाका अनुसार दुई दिन पानी पर्नासाथ अधिकांश घर डुबानमा पर्ने गर्छ । डुबानका लागि स्थायी समाधान हुन नसक्दा हरेक बर्खामा समस्या बल्झिरहने गरेको स्थानीयको भनाइ छ ।

महेन्द्र राजमार्गमा ४० वर्षअघि बनाइएका पुल र कल्भर्टबाट पानी निकास नहुँदा समस्या भएको हो । कल्भर्ट र पुल सफा नगर्दा त्यस्तो समस्या भएको स्थानीय एकनारायण सापकोटा बताउँछन् । महेन्द्र राजमार्गमा समेत पानी भरिएर आउजाउ गर्न समस्या भएको छ ।स्थानीय माया कँडेलका अनुसार जनक माविको पश्चिमतर्फको पर्खाल भत्किएर बाढी पसेका कारण विद्यालय बन्द गरिएको छ । कांग्रेस चोक र पश्चिमतर्फ पानीको निकास दिने काम भइरहेको गैंडाकोट नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस