२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा चैतेधानको बजारीकरण समस्या समाधान, प्रति क्वीन्टल २४ सय निर्धारण

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित ( साल अघि) १००९ पाठक संख्या

डोलराज रानाभाट

गैँडाकोट, जेठ २२ । गैँडाकोटमा उत्पादीत चैते धानको प्रति क्वीन्टल २ हजार ४ सय रुपैया निर्धारण गरेर बजारीकरणको समस्या समाधान गरिएको छ ।

उत्पादीत चैते धानले बजार नपाउने समस्या भयो भन्दै किसानहरुले गुनासो गरेपछि नगरप्रमुख छत्रराज पौडेल आज आफै जयश्री फुड्स प्राली गैँडाकोट ९ मा गएर किसानहरुको धान खरिद गर्न आग्रह गर्नुभएको थियो ।

नगरप्रमुख पौडेल र वडाअध्यक्ष प्रेम प्रसाद सापकोटा सहित कम्पनीका खरिद विक्रि शाखाका प्रकाश घिमिरे बसेर प्रति क्वीन्टल रु.२ हजार ४ सयमा खरिद गर्ने मौखिक सहमति भएको हो । घिमिरेका अनुसार चितवनको पर्सा भण्डारामा अधिकतम रु २ हजार ३५० रुपैया क्वीन्टल भन्दा माथि खरिद नभएको तर गैँडाकोटका स्थानीयले उत्पादन गरेको धान भएकाले रु.२ हजार ४ सय सम्म दिन सक्ने बताउनुभयो । कोरोना महामारी र लकडाउनका कारण मूल्य बढाएर खरिद गर्न नसकिएको उहाँको भनाई थियो ।

मूल्य निर्धारण पछि नगरप्रमुख पौडेलले किसानको उत्पादन कुनै पनि कारण खेर जान नदिनेमा आफू प्रतिवद्ध रहेको बताउनुभयो । कृषि क्षेत्रको उन्नती र विकासविना समृद्धि प्राप्त गर्न नसकिने भन्दै किसानले धानको मूल्य नपाउने गुनासो गर्नासाथ आफै खटिएर मिलसँग कुरा गरेको उहाँको भनाई थियो ।
गैँडाकोट ११ र १२ मा अहिले चैते धान भित्राउने समय भएको छ ।

भेडावारीमा मात्रै २६० विघामा चैते धान रोपिएको वडाअध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो । कोरोनालाई कारण देखाउँदै १६ सय क्वीन्टलमा किन्न सक्ने मिलहरुले बताइरहदा नगरप्रमुखकको पहलमा रु.२ हजार ४ सय निर्धारण हुनु धेरै राम्रो भएको उहाँको भनाई छ । मुकुन्दपुरमा मुकुन्दसेन धान ब्लक संचालन समन्वय समिति गठन गरेर चैते धान खेती गरिएको छ।

कृषि ज्ञान केन्द्र नवलपुरले ब्लक कार्यक्रम लागू गरी किसानहरुलाई २३ लाख ६४ हजार ४ सय ८१ रुपैया अनुदान दिएको थियो ।त्यस्तै किसानहरुले ११ लाख ४४ हजार ४ सय ९७ रुपैया लागत सहभागीता जनाएका थिए । त्यसमा नगपालिकाले सिँचाई, विद्युतको व्यवस्था लगायतको सुविधा बढाएर धान उत्पादनमा किसानहरुलाई हौसला दिएपछि अहिले राम्रो चैते धान उत्पादन भएको छ ।

वडाअध्यक्ष सुवेदीका अनुसार प्रति विघा ५० क्वीन्टल सम्म धान फल्ने र भेडावारीमा २६० विघामा धान खेती भएकाले १० हजार बढि क्वीन्टल धान उत्पादन हुने बताउनुभयो । ब्लक संचालन समितिका अध्यक्ष निर्मल न्यौपानेले केही रकम अझ बढाउन सके किसानका लागि फाइदा हुने भन्दै आफै ठाउँमा रहेको जयश्रीले केही रकम बढाउन आग्रह गर्नुभयो । अझै पहल भएर खरिद मूल्य बढाए किसानहरुलाई थप प्रेरणा मिल्ने बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस