२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

कोरोना खोपको ट्रायल नेपालमा

२०७७ भाद्र ८, सोमबार प्रकाशित ( साल अघि) १११३ पाठक संख्या

काठमाडौं : प्रस्तावित कोरोना भाइरसविरुद्धको खोपको ‘क्लिनिक ट्रायल’ नेपालमा गर्ने तयारी अघि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुनसुकै मुलुकमा निर्मित खोप परीक्षण गर्न नेपाल खुला रहेको जानकारी दिए।

 

‘क्लिनिकल ट्रायलमा संलग्न हुनका लागि हामी खुला छौं। जसको भ्याक्सिन पहिला आउँछ त्यसको उपयोग गर्छौं’, प्रवक्ता डा. गौतमले अन्नपूर्णसँग भने। भ्याक्सिन तयार पार्न विकसित मुलुकबीच प्रतिस्पर्धा भइरहेकाले त्यसको गुणस्तर, प्रभावकारिता र उपलब्धता हेरेर परीक्षण गर्ने ÷नगर्ने निर्णय गरिने उनको भनाइ छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोप ट्रायलको प्रक्रिया अघि बढाइएको जनाएको छ। चीनको एक कम्पनीले कामदारमाथि ट्रायल गर्न अनुरोध गर्दै मन्त्रालयलाई पठाएको छ। यस सम्बन्धमा अनुसन्धान गरी निर्णय गर्न मन्त्रालयले आइतबार परिषद्लाई जिम्मा दिएको छ।

मन्त्रालय स्रोतका अनुसार होङसी ग्रुपमा कार्यरत कामदार र अन्य गरी एक हजार जनाका लागि स्वीकृतिको अनुरोध चीनबाट आएको हो। ‘अध्ययन, अनुसन्धानबाट परिषद्ले स्वीकृति दिए ट्रायल सुरु हुन्छ’, ती स्रोतले भन्यो।

मन्त्रालयको स्वीकृति लिएर परिषद्को नेतृत्वमा अध्ययन अघि बढाइएको छ। परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोपको तेस्रो चरणको परीक्षण गर्न कम्पनी इच्छुक भएको जानकारी दिए।

चीनमा निर्मित खोपको अध्ययन, अनुसन्धान कार्य अघि बढाइएको पुष्टि गर्दै उनले अन्नपूर्णसँग भने, ‘थप प्रक्रिया अघि बढाउँछौं। अफिसियल पत्र आएपछि डकुमेन्ट हेर्छौं। उनीहरूसँग वार्ता गर्छौं। ठीक लागे खोप अध्ययन गर्न रिसर्च ग्रुप बनाउँछौं। त्यसपछि प्रोटोकल बनाउँछौं।’

उनका अनुसार यी सबै प्रक्रियाका लागि बजेट एवं जनशक्तिको व्यवस्थापन गर्ने तयारी छ। ‘आजदेखि अध्ययन, अनुसन्धानको लागि बाटो खुलेको छ। केही समय लाग्न सक्छ। हामीले चाहँदा खेरी चीनसँग सम्झौता गर्न सकिने भयो’, डा. ज्ञवालीले भने।

परिषद्ले यूके अक्सफोर्ड ग्रुपसँग पनि एक साताअघि वेबिनारमार्फत बैठक गरेको थियो। डा. ज्ञवालीका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पहलमा गरिएको कुराकानीमा उक्त ग्रुपले पनि सकारात्मक धारणा व्यक्त गरेको हो। ग्रुपले प्राविधिक समूहसँग छलफलपछि खबर गर्ने जनाएको थियो।

रुसको खोपका लागि कूटनीतिक पहल

रुसले तयार पारेको खोप पनि अध्ययन, अनुसन्धान गर्न सरकारले कूटनीतिक पहल थालेको छ। मन्त्रालय निकट स्रोतका अनुसार रुसी राजदूत एलेक्सी नोभिकभमार्फत द्विपक्षीय कुराकानी भइरहेको छ। ‘रुसमा निर्मित खोपको चर्चा भएपछि अनुसन्धान र पछि आवश्यक परे खरिद गर्न पनि वातावरण बनाइदिन रुसी राजदूतमार्फत पहल भइरहेको हो’, स्रोतले भने।

मन्त्रालय र परिषद्का पदाधिकारीले रुसी राजदूतसँग एक साताभित्रै छलफल हुने स्रोतको दाबी छ। राजदूत नोभिकभले भदौ २ गते राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए। उक्त भेटमा राजदूत नोभिकभले रुसमा निर्मित खोपको माग विभिन्न मुलुकबाट आउन थालेको उल्लेख गरेका थिए। नेपालले चाहे प्राथमिकतामा राखेर उपलब्ध गराउन पहल गर्ने आश्वासन उनले दिएका थिए।

डब्लूएचओले जम्मा तीन वटा खोप मात्र तेस्रो चरणको परीक्षणमा पुगेको जनाएको छ। जसमा चीनका दुई र अक्सफोर्ड विश्वविद्यालय यूकेको छन्।

रुसले असार २८ गते कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गरिएको दाबी गरेको थियो। जुन पहिलो परीक्षण १८ र दोस्रो परीक्षण २० जनामा गरिएको रुसी न्युज एजेन्सीले जनाएका छन्। चीनको सिनोफार्मले उत्पादन गरेको खोप परीक्षणको अन्तिम अर्थात् तेस्रो चरणमा छ।

तीन कम्पनी इच्छुक छन्

डा. प्रदीप ज्ञवाली,

प्रमुख कार्यकारी, नेपाल स्वास्थ्य अनुसन्धान परिषदअन्तर्राष्ट्रिय तहमा कुन कुन खोप अनुसन्धान भइरहेका छन् भनेर चासो लिइरहेका छौं। बाहिरी मुलुकमा बनेका खोपहरूको अध्ययन, अनुसन्धान गर्दै छौं। विश्वभरका रिसर्च ग्रुपसँग नजिकमा छौं। कोभिड—१९ विरुद्ध क्लिनिकल ट्रायलमा रहेका विभिन्न खोपको नेपालमा अध्ययन, अनुसन्धान गर्न नेतृत्व लिएका छौं।

चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुप आफूले उत्पादन गरेको खोप नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न इच्छुक छन्। यसको प्रक्रियासमेत अगाडि बढाइसकिएको छ।

कुन खोप बढी प्रभावकारी छ भन्नेबारे बाहिरको अध्ययनका साथै हामी आफैं पनि अनुसन्धान गर्छौं। कुन मुलुकले सहयोग गर्छ वा खोप खरिद गर्नुपर्ने हो की के होे भनेर सबै पक्ष हेर्छौं।

कति जनालाई ट्रायल गरिन्छ भन्ने प्रोटोकल डिजाइनपछि प्रष्ट हुन्छ। हजारभन्दा बढीलाई क्लिनिकल ट्रायल गर्नुपर्ने हुन सक्छ। यसका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड पालना गरे पुग्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस