२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कछुवा हुर्काउँदै चितवन राष्ट्रिय निकुञ्ज

२०७७ आश्विन ९, शुक्रबार प्रकाशित ( साल अघि) ११२१ पाठक संख्या

चितवन असोज ९

चितवन राष्ट्रिय निकुञ्जले गोहीसँगै कछुवा पनि हुर्काउँदै आएको छ । गोही प्रजनन केन्द्रमा नै केहीलाई गोहीसँगै र केहीलाई छुट्टै राखेर कछुवा हुर्काउँदै आएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार त्यहाँ पाँच जातका ३० वटा कछुवा छन् । जमिनमा बस्ने दुई जातलाई छुट्टै र पानीमा बस्ने तीन जातलाई गोहीसँगै राखिएको छ । निकुञ्जभित्र र बाहिर उद्धार गरिएका कछुवालाई त्यहाँ विसं २०५७ बाट हुर्काउन थालिएको हो । उहाँका अनुसार हुर्किएका छ वटा कछुवा बाहिर निकुञ्ज क्षेत्रमा छाडिएका छन् ।

यहाँ अति सङ्कटापन्न सालको जङ्गलमा रहने भुई, तीन पाते पहाडी, पदनी, पुतली र मयुरपङ्खी कछुवा छन् । भुई र तीन पाते पहाडी कछुवाले घाँस पात, किरा फड्याङ्ग्रा, फलफूल खाने गर्दछ । धेरै गर्मीमा पानीमा र अरुबेला जमिनमा यी कछुवा रहन्छ । यी कछुवा बिहान र बेलुका धेरै सक्रिय हुने गर्दछन् ।

पदनी पानीमा बस्ने कछुवा हो । यो मुख्य रुपमा घोलमा पाइन्छ । यसले सागपात, किराफट्याङ्ग्रा मासु सबै खान्छ । पुतलीलाई नरम खबटे कछुवा पनि भनिन्छ । दलदल र पोखरीमा यो बस्छ । खड्काका अनुसार पहिले पहिले यसै कछुवालाई इनारमा पानी सफा गर्छ भनेर राख्ने प्रचलन थियो ।

मयुरपङ्खीलाई नरम खबटे भनिन्छ । यो पोखरी, दलदल र हिलोमा बस्छ । पानीमा पाइने, किरा फट्याङ्ग्रा, माछा मासु खाने गर्दछ । निकुञ्जले पदनी, पुतली र मयुरपङ्खीलाई गोहीसँगै राखेको छ । ती कछुवालाई माछा, मासु दिने गरिएको छ भने अन्यलाई चना, भटमास, फर्सी, गाजर दिने गरिएको छ ।

कछुवा हुर्काएर प्रकृतिमा छोड्न, यसको महत्व बुझाउन, अध्ययन अनुसन्धान र जनचेतनाका लागि निकुञ्जले कछुवाको संरक्षण गरेको उहाँको भनाइ छ । विश्वमा २५० जातिका कछुवा पाइन्छन् । तीमध्ये नेपालमा १८ जातिका रहेको खड्काले जानकारी दिनुभयो । तस्करले चोरीशिकार गरेर यसलाई धेरै मूल्यमा बिक्री गर्ने गर्छन् ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस